Logo

शुक्रवार, भाद्र १९ गते २०८३

कलाकार दुलालले गरे काग सम्मेलन, भेला गराइयो सयौँ काग

कलाकार दुलालले गरे काग सम्मेलन, भेला गराइयो सयौँ काग

नयाँ लहर

१४, कार्तिक २०८१
कलाकार दुलालले गरे काग सम्मेलन, भेला गराइयो सयौँ काग

  ‘२१औँ काग सम्मेलन’ बुधबार बिहान सम्पन्न भएको छ । काग तिहारको विशेष अवसर पारेर विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने कलाकार रमेश दुलाल (कागे)ले  विगतका वर्षहरुमा झैँ यो वर्ष पनि कागहरुलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । 

राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले सम्मेलन सम्पन्न भएसँगै  भने। उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए । 
‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । सोहीअनुसार कागको स्वाभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए ।

राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटवाललगायतको सहभागिता रहेको थियो । 
कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए ।  दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - ०७:२७:१५ बजे

नयाँ लहर

सम्बन्धित समाचार