काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार पुनर्गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले गत मे ३ र ४ गते काठमाडौंमा आयोजित ‘एकताको महाधिवेशन’मार्फत चयन भएको नयाँ नेतृत्वको कार्यकाल एक महिना पूरा भएको छ। वैदेशिक भूमिमा सक्रिय रहेका एनआरएनहरूको उल्लेखनीय सहभागिता रहेको महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय समन्वय परिषद् निर्विरोध निर्वाचित भएको थियो।
मे ४ मा काठमाडौंस्थित होटल हायातमा आयोजित शपथ ग्रहण समारोहपछि संघको नयाँ कार्यसमितिले आधिकारिक रूपमा कार्यभार सम्हालेको थियो।
कूटनीतिक र नीतिगत सक्रियता
कार्यभार सम्हालेको पहिलो महिनामै संघले उल्लेखनीय गतिविधिहरू अघि बढाएको छ। प्रवक्ता गंगाधर गौतमका अनुसार नयाँ नेतृत्वले राजनीतिक भेटघाट, उच्चस्तरीय लबिइङ, सांस्कृतिक प्रवर्द्धन, नीतिगत संवाद र क्षेत्रीय भ्रमणलाई प्राथमिकता दिएको छ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वलाई संस्थाभित्रको विवाद समाधान गर्दै एकता मजबुत बनाउने सुझाव दिएका थिए।
त्यसपछिका दिनहरूमा अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले प्रमुख राजनीतिक दलका नेताहरू—शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा. प्रकाश शरण महत, एनपी साउद, अर्जुन प्रसाद जोशी र किरण पौडेलसँग छुट्टाछुट्टै भेट गर्दै एनआरएन नागरिकता, श्रमिक समस्या, सामाजिक सुरक्षा र लगानीसम्बन्धी विषयमा छलफल गरेको थियो।
सरकारसँग संवाद
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयमा आयोजित कार्यक्रममा संघको नयाँ टोलीलाई शुभकामना दिँदै सबै पक्षलाई समेट्ने नेतृत्वको अपेक्षा राखेकी थिइन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भएको भेटमा एनआरएन नागरिकता, श्रमिक सुरक्षा र सामूहिक लगानीबारे सकारात्मक छलफल भएको संघले जनाएको छ।
अध्यक्ष श्रेष्ठको टोलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता डा. शेखर कोइराला, गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दीपक खड्का, श्रममन्त्री शरत सिंह भण्डारी र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग पनि अलग–अलग भेट गर्दै सम्बद्ध क्षेत्रसँग सम्बन्धित प्रस्तावहरू राखेको थियो।
क्षेत्रीय भ्रमण र सांस्कृतिक पहल
महाधिवेशनपछिको पहिलो भ्रमणमा अध्यक्ष श्रेष्ठसहितको टोली बागलुङ र पर्वत पुगेको थियो। अन्तर्राष्ट्रिय बागलुङ समाजको अधिवेशनमा सहभागी टोलीले स्थानीय विकास, रोजगारी र पूर्वाधार निर्माणमा एनआरएनएले गर्नसक्ने सम्भावित सहकार्यबारे छलफल गरेको थियो।
सांस्कृतिक क्षेत्रमा समेत सक्रियता देखाउँदै संघलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले सम्मान गरेको थियो। गैरआवासीय नेपालीहरूले नेपाली कला र संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।
अन्तर्राष्ट्रिय सहभागिता र लगानी पहल
अध्यक्ष श्रेष्ठले जापान भ्रमणका क्रममा त्यहाँको नेपाली समुदायबाट स्वागत पाएका थिए। भ्रमणका क्रममा उनले आफ्नो कार्यकालका प्राथमिकता सार्वजनिक गरेका थिए। नेपाल फर्किएपछि उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्दै एनआरएनहरूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताएका थिए।
गभर्नर पौडेलले एनआरएन लगानीप्रति सकारात्मक दृष्टिकोण राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आन्तरिक चुनौती
संघको नयाँ कार्यसमिति गठन भएयता भौतिक रूपमा एक पटक र भर्चुअल रूपमा थुप्रै बैठकहरू सम्पन्न भइसकेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् तर्फबाट तीन पटक बैठक बसेको र कार्यालय सञ्चालन तथा छानबिन समिति गठनसम्बन्धी निर्णयहरू गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
तर, संगठनभित्रका आन्तरिक मतभेद भने अझै समाधान भइसकेको छैन। “संवादका लागि हामी तयार छौं, तर ताली एक हातले मात्र बज्दैन। यदि अर्को पक्ष संवादमा नआए सचिवालय कब्जा गर्नु बाध्यता हुन सक्छ,” प्रवक्ता गौतमले भने।