आम जनता पार्टी (आजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभुत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ । यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ । पार्टीले सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरेको छ । पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ ।