जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि जापानबाट सुपेन्द्र घिसिङले युवा संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । आगामी ३० असोजदेखि ३ कात्तिकसम्म काठमाडौंमा हुने ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनएको अभियानमा निरन्तर सक्रिय उनी काभ्रेपलाञ्चोकमा जन्मिएका हुन् । घिसिङ एनआरएनए जापानमा २०१४ मा प्रवेश गर्दै क्षेत्रीय कमिटी, एनसीसी हुँदै आईसीसी सदस्यमा भारी मतले विजयी भएका थिए ।
उनले काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन् । त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् ।
नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा आफूले आर्थिक सहयोग गर्नुको साथै आर्थिक संकलन अभियानमा समेत उनी सक्रिय भएका थिए । कोभिड–१९ को महामारीमा पनि उनले नेपालको लागि र जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र खाद्य सामग्री वितरणका साथै सूचना सम्प्रेषणमा समेत सक्रिय भएका थिए ।
त्यसै बखत नेपालमा अक्सिजनको अभावमा भएको बेला अक्सिजन पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपालमा दिनदुःखी, अपांगता भएकाहरुलाई सहयोग गर्नुको साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहेका छन् ।
उनको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड होटल व्यवसाय छ भने जिङ लिमिटेडअन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय समेत गर्दै आएका छन् । थ्रीजी बिलडर्स कम्पनीमार्फत कन्ट्रक्सन र होटेल व्यवसाय पनि उनी संलग्न छन् ।
घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्ने, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी दिए ।