Logo

शुक्रवार, भाद्र १९ गते २०८३

रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने पनि बढे

रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने पनि बढे

नयाँ लहर

३०, आश्विन २०८१
रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने पनि बढे

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स १५.२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई रु.२६३ अर्ब १४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । 

जसअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । 

यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ ।
 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो । 
यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२८६ अर्ब ४५ करोड पुगेको छ । यसैबीच समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु. २ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८५ करोड ८ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु.३ अर्ब रहेको रिपोर्टमा उल्लेख छ । 

यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ । 

यस्तै २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ रु.२१५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई रु.१९२८ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई रु.२२३ अर्ब ५३ करोड कायम भएको छ । २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । 

बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने रिपोर्टमा उल्लेख छ। 

प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०८:२०:१७ बजे

नयाँ लहर