काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताएका छन् । शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि सबै पक्षको साझा प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ’, शनिवार राजधानीको बालाजुस्थित कार्यक्रममा बोल्दै पौडेलले भने, ‘शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।’
प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
देशमा बालबाटिकाजस्ता निजी स्कुलहरूले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको पनि सो क्रममा पौडेलले बताए । व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै पौडेलले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
यस्तै व्यवस्थित व्यक्तिले मात्रै देशको नेतृत्व गर्न सक्ने यथार्थ प्रस्तुत गर्दै पौडेलले भने, ‘अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला उ आफैँ व्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।’ यो विषयलाई विद्यालय तहबाटै विद्यार्थीलाई बुझाउने र त्यस ढङ्गबाट उसलाई अभ्यस्त गर्ने स्थिति बन्नुपर्ने उनको धारणा थियो । सँगसँगै विद्यार्थीलाई विद्यालयको अतिरिक्त अभिभावकले पनि समय र सोहीअनुसार तयार गर्नुपर्नेमा उनले जोड दिए ।
अबको अभिभावकले पैतृक सम्पत्ति जोडेर बालबच्चाको भविष्य सुनिश्चित हुन्छ भन्ने नसोच्ने धारणा राख्दै पौडेलले संसारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउनका लागि विद्यालयले मात्रै नभई अभिभावकले पनि पहलकदमी लिनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसचिव रामप्रसाद थपलियाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको आफूले पाएको भन्दै आगामी दिनमा थप सफलताको कामना गरे । यस्तै नेशनल मोडल स्कुलका प्रधानाध्यापक डीएन अधिकारी, नेपाल राष्ट्रिय विद्यालयका प्रधानाध्यापक निर्मला शाक्य, एनआर कलेजका अध्यक्ष त्रिचवरध्वज थापालगायतले पनि आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक राजेश खकुरेलले अभिभावकलगायत सबै पक्षको साथ तथा सहयोगले विद्यालय अहिलेको अवस्थामा आइपुगेको भन्दै आभार प्रकट गरे । उनले विद्यालय थप स्तरीय बनाउन अभिभावकबाट निरन्तर सल्लाह सुझावको अपेक्षा पनि गरे ।
यस्तै अध्यक्ष रमेश प्रसाईंले सुविधा सम्पन्न भवनबाट विद्यालयले अनुभवी शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । अभिभावक दिवसका अवसरमा बालबालिकाहरुले विभिन्न गीत, नृत्य, तेक्वान्दोलगायतका प्रतिभा देखाएर उपस्थितलाई मनोरञ्जन दिलाएका थिए । राजधानीको बालाजु–नेपालटारमा रहेको बालबाटिका स्कुलमा कक्षा १ देखि १० सम्म पठनपाठन गराउँदै आएको छ । विद्यालयले सर्वसुलभ शुल्कमा स्तरीय पठनपाठन गराउँदै आएको जनाएको छ । सोही कार्यक्रममा स्कुलको पहिलो स्मारिका 'द मिरर' समेत बिमोचन गरिएको थियो ।