Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राजेन्द्र लिङ्देनलाई खुला पत्र

राजेन्द्र लिङ्देनलाई खुला पत्र

नयाँ लहर

९, बैशाख २०८२
राजेन्द्र लिङ्देनलाई खुला पत्र
  • युवराज राना

राजेन्द्र लिङ्देनज्यू !

तपाईं यसरी किन ठुस्केको ? गणतन्त्रविरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक भएर लड्नु पर्ने बेलामा तपाईँले ठुस्केर एक्लै लड्ने रहर गर्नु भएछ । तपाईँले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको गठनप्रति पनि असहमति प्रकट गर्नु भएछ । आफ्नै पार्टीका महामन्त्री बन्दी अवस्थाबाट मुक्त भएर फर्केको कार्यक्रममा पनि आउनु भएन ? किन यति सारो एक्लै हिँड्ने रहर लागेको हो नि तपाईँलाई ?

राजनीतिमा एक्लै हिँड्नु सैद्धान्तिक रुपले राम्रै होला । तर व्यावहारिक रुपमा त्यति उपयुक्त मानिन्न । सिद्धान्त मिल्नेहरूसँग सहकार्य गर्दा शक्ति बलियो नै हुन्छ । सिद्धान्त नमिल्नेहरूसँग पनि उनीहरूलाई “प्रयोग गर्ने” गरि सहकार्य गर्नु नराम्रो होइन ।

नेपालको राजनीतिमा एक्लै हिड्ने रहर गर्ने पहिलो नेता डिल्लीरमण रेग्मी थिए । हुँदाहुँदा उनी यसरी एक्लो भए कि उनका छोराछोरी नै उनको दलमा बसेनन् ।

विश्वेश्वर कोइराला पनि राजाबाहेक अरुसँग सहकार्य गर्न नाक खुम्च्याउथे । तर उनलाई पनि २०१४ सालको भद्र अवज्ञा आन्दोलन गर्न अरुसँग मिल्नै पर्‍यो । उनका चेलाहरूले त कम्युनिस्टसँग मिलेर दुई दुई पटक आन्दोलन गरेर सत्तामा उक्लिन पाए ।

 कम्युनिस्टहरू पनि पहिलेपहिले त अरुसँग सहकार्य गर्दा जातै जाला जस्तो गर्थे । तर प्रकारान्तमा उनीहरू जति अरुसँग सहकार्य गरेर आफूलाई बलियो बनाउँदै लैजानमा सिपालु अरु कोही भएनन् ।

राजेन्द्र लिङ्देनज्यू !

तपाईँ पनि एमाले, माओवादीसँग एकडेढ महिना सरकारमा गएर आफ्नो कौमारित्व भंग गरेर फर्किन असजिलो नमान्ने ? तर आफ्नै सगोत्री मित्र बन्धुहरूसित सहकार्य गर्दिन भनेर अड्डि कसेर बस्ने ? यसो गरेको पटक्कै सुहाएन ।

 तपाईंले २०६४ सालमा टुडिखेलमा कुर्लिदै भन्नु भएको थियो– “कांग्रेस र कम्युनिस्टले राजालाई बलजफ्ती नारायणहिटीबाट लखेटे । हामीहरू राजालाई नागार्जुनबाट बोकेर ल्याएर एकदिन नारायणहिटीमा राख्ने छौं ।” अहिले त्यस्तै मौका आएको छ । यो मौकालाई खेर जान दिनु हुन्न ।

तपाईंले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिलाई गरेको असहयोग जनमानसले नियालेर हेरिरहेको छ । तपार्इँको यस संकीर्णताले धेरैको चित्त दुखाएको छ । कहीँ यो असहयोग नै तपार्इँको राजनीतिक पतनको कारण नबनोस् । आफ्नै अनुयायी र प्रशंसकहरूको चित्त दुखाएर कुन नेता पो टिक्न सकेको छ र यहाँ ? तपाईँको शक्ति र धरातल भन्नु नै राजाको आशिर्वाद र राजसंस्थावादीहरूको समर्थन त हो नि । यिनीहरूले नै हाइलाइट गरेर तपाईंलाई आकाशमा उचालेका त हुन् । राजा र राजसंस्थावादीहरूकै चित्त दुखाउनु भयो भने तपाईँको अस्तित्व पनि अन्ततः हुने भनेको “पुनर्मूसिको भव” नै हो ।
 
राजनीतिमा एक्लै केही गर्न सकिन्न । संगठन नै शक्ति हो । “संघ शक्ति कलियुगे” भन्ने उक्ति सुन्नु भएकै होला !
 
राना राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा लुम्विनी प्रदेश सदस्य हुन्‌ । फेसबुकबाट साभार

प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - २१:४०:३२ बजे

नयाँ लहर