Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सुनमा भन्सार वृद्धिको विरोधमा व्यवसायी सडकमा, अब के हाेला ?

सुनमा भन्सार वृद्धिको विरोधमा व्यवसायी सडकमा, अब के हाेला ?

नयाँ लहर

२०, जेठ २०८१
सुनमा भन्सार वृद्धिको विरोधमा व्यवसायी सडकमा, अब के हाेला ?

काठमाडौँ । सरकारले बजेटमार्फत सुनमा गरेको भन्सारवृद्धिको विरोध हुन थालेको छ । सुनचाँदी व्यवसायसँग सम्बन्धित व्यवसायीको एक समूहले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । 
विगत १४ वर्षदेखि लागू गरिएको सुनको सिन्डिकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धिविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित सरकारको ध्यानाकर्णण गराइएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले जानकारी दिए । 
सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको ब्यानरमा भएको प्रदर्शनमा ‘सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, भन्सार वृद्धि खारेज गर, सुनचाँदी व्यवसाय तथा कलीगढ मैत्री नीति –निर्देशिका ऐन लागु गर’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो । 
सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार करमा वृद्धि गरेसँगै त्यसको असर आन्तरिक बजारमा पर्न थालिसकेको छ ।  सरकारको बजेटसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत सुनको कर ५ प्रतिशत बढेको छ । यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यो २० प्रतिशत पुगेको हो । 
उसो त सुनको भन्सार दर बढेसँगै बजारमा सुनको मूल्य समेत बढ्न थालिसकेको छ । बजेट घोषणा भएको दिन सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तोलामा  १ लाख ४२ हजार रुपैयाँ पुगेको छ । 
सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले सुनको भन्सार बढाउनमा स्वार्थ समूहको खेल रहेको आरोप लगाए । कोटाको आडमा सुन तस्करी गर्ने गिरोहको भन्सारको मूल्य वृद्धिले तेस्रो आँखा खुलेको प्रतिक्रिया दिए । ‘सरकारको निर्णयले सीमावर्ती भारतीय क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीको कल्याण हुन्छ । किनकी भारतमा भन्दा नेपालमा सुनको मूल्य ५ हजार रुपैयाँ महँगो हुन आउँछ’, उनले भने, ‘तर सिस्टममा व्यवसाय गर्ने नेपाली व्यवयासी भारतमा मूल्य सस्तो हुँदा मर्कामा पर्छन् ।’ उपभोक्ता पनि भारतीय बजारतर्फ आकर्षित हुने हुँदा यसको प्रभाव भयानक हुने उनको तर्क छ । उनले भने, ‘यसबारे सरकारले तत्काल एउटा समिति गठन गर्नुपर्छ । समितिमार्फत अध्ययन गरेर नेपाल र भारतको मूल्य बराबर हुने गरी निर्णय गर्नुपर्छ ।’ उनले भारतमा भन्दा सुनको मूल्य नेपालमा महँगो भइसकेको उल्लेख गर्दै बजेटअघि भने समान रहेको उल्लेख गरे । 
उनले भने, ‘अब भारततर्फको सुन नेपालतर्फ आउन भयो । कसरी आउने भयो भने तस्करले यहाँ महँगोमा बेच्न पाउने भए । चीन र त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट होइन अब खुला सीमानाबाटै सुन आउन सुरु हुने भयो । यो गलत भयो ।’ 
सीमाक्षेत्रमा व्यवसायीहरु भारतमा भन्दा नेपालमा महँगो भएसँगै व्यवसाय चौपट हुने त्रासमा रहेको बताइएको छ । यसले अर्थतन्त्रमा नै धक्का लाग्न सक्ने व्यवसायीहरुको धारणा छ । सोही बुझाइका साथ व्यवसयी सडकमा आउने अवस्था बनेको हो। 
भन्सार बढाएर सुनमा चलखेल गर्न स्वार्थ समूहले ले अर्थमन्त्रीलाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाउँदै गुप्ताले यसबारे गम्भीर बन्दै समिति गठन गरेर समस्याको बेलैमा समाधान खोज्नुपर्नेमा जोड दिए । 
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले अध्ययन र छलफल नै नगरी हचुवाको भरमा सुनको कर बढाएको आरोप लगाए । उनले करवृद्धिले समग्र बजारमा असर पुग्ने बताउँदै महँगीले सुनको कारबार नै नहुने स्थिति बनिसकेको अवस्थामा सरकारले निर्णयले थप चुनौती थपिएको प्रतिक्रिया दिए ।  सुनको कर बढाउँदा चोरी पैठारी बढ्ने र व्यवसाय घट्ने उनको शाक्यको भनाइ छ ।  
यसैबीच नेपाल रत्न तथा आभुषण संघले एक विज्ञप्ति निकालेर बजेट वक्तव्य मार्फत सुनको भन्सार दरलाई १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पु्याएकोमा ध्यानाकर्षण भएको जनाएको छ । 
 भन्सार दर नै कायम गर्ने विषयमा अर्थ मन्त्री वर्षमान पुनसमक्ष लिखित निवेदन दिनुका साथै उक्त बढाएको भन्सार दर हटाउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ तथा निर्यात व्यवसायी महासंघ नेपाललाई पनि आवश्यक पहलका लागि अनुरोध पत्र दिइसकेको महासचिव जयराम पाण्डेयले जनकारी दिए ।
 सरकारले सुनको भन्सार बढेसँगै व्यवसायीहरु तरंगित हुनुका साथै आगामी व्यवसायका विषयमा तरंगित बनेका छन् ।

प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - २२:५३:४१ बजे

नयाँ लहर